वीरगंज महानगरपालिकाले नगर क्षेत्रका सडक तथा खाली जग्गामा अनाधिकृत रूपमा सञ्चालन भइरहेका बजार तथा पसलहरू तत्काल बन्द गर्न कडा निर्देशन दिएको छ ।
महानगरपालिकाले नयाँ बसपार्क नजिकको खाली जग्गा, पावरहाउस क्षेत्र, मुर्ली चोक, बुखार चोक, इदगाहा चोक तथा गीता मन्दिर आसपासका स्थानहरूमा सञ्चालन भइरहेका तरकारी, फलफूललगायतका बजार तत्काल हटाउन आग्रह गरेको हो ।
मंगलबार जारी सूचनामा महानगरपालिकाले ती स्थानमा लाग्दै आएका अनधिकृत बजारहरू नहटाइए वा बन्द नगरिए प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।
महानगरपालिकाका अनुसार बजार व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित तथा प्रभावकारी बनाउन नगरभित्र आवश्यक पूर्वाधारसहित विभिन्न स्थानमा बजार स्थापना गरिसकिएको छ । माइस्थान नजिक मिना बजार कम्प्लेक्स तथा छपकैयाँ ( रेल्वे रोड ) क्षेत्रमा तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याइएको छ ।
यसैगरी घण्टाघर नजिकको वि.पी. उद्यान क्षेत्रमा जथाभावी लाग्दै आएको बजारलाई व्यवस्थापन गर्न छपकैयाँस्थित तोकिएको स्थानमा स्थानान्तरण गर्ने प्रयास गरिएको थियो ।
तर केही व्यवसायीहरूले तोकिएको स्थानमा नगई नयाँ बसपार्क, पावरहाउस, मुर्ली चोक, बुखार चोक, इदगाहा चोक तथा गीता मन्दिर आसपासमा अनधिकृत रूपमा बजार सञ्चालन गरिरहेको महानगरपालिकाले जनाएको छ । पटक–पटक सूचना जारी गर्दा पनि अटेर भइरहेको उल्लेख गरिएको छ ।
यसैबीच मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले २०८२ चैत २२ गते जारी गरेको परिपत्रअनुसार बजारलाई जथाभावी रूपमा सञ्चालन गर्न नदिई तोकिएको स्थानमै सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
महानगरपालिकाले सम्पूर्ण व्यवसायीलाई तोकिएको स्थान बाहेक अन्यत्र बजार सञ्चालन नगर्न तथा हाल सञ्चालन भइरहेका अनधिकृत बजारहरू तत्काल बन्द गरी निर्धारित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ ।
निर्देशनको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।