जिल्ला प्रहरी कार्यालय बाराले अवैध लागूऔषध अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका – २ का ५५ वर्षीय खड्गबहादुर मोक्तान र साविक डाँडाखर्क गाविस–८ का ४९ वर्षीय लालबहादुर स्याङतान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डित ले उक्त जानकारी दिएका हुन् ।
आज बेलुका करिब ५ बजे इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जीतपुर–सिमरा उपमहानगरपालिका – २१ स्थित कल्पवृक्ष होटल नजिक सडकखण्डमा उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट लुकाइछिपाइ राखिएको ९८२ ग्राम अफिमजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।
उक्त लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।