सर्लाहीको हरिपूर्वा नगरपालिका मा सडक तथा नाला निर्माणको माग गर्दै स्थानीय युवाले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
बुधबार हरिपूर्वा–३ धनकौल पूर्वारी गाउँका युवाले गाउँबस्तीलाई बेवास्ता गरी चौडीतर्फ सडक र नाला निर्माण गरिएको विरोधमा तालाबन्दी गरेका हुन् ।
आन्दोलित युवाका अगुवा उद्धवकुमार यादवका अनुसार बस्ती भएको क्षेत्रमा सडक निर्माण नगरी अन्यत्र काम भइरहेको भन्दै तीन साताअघि नै नगर प्रमुखलाई निवेदन दिइएको थियो । तर सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले बताए ।
उनले भने, “गाउँमा सडक छैन, तर चौडीतर्फ जाने सडक र नाला बनिरहेकाले विरोधमा ताला लगाएका हौँ।” उनका अनुसार ध्यानाकर्षण गराएपछि एक पटक डोजर लगाएर साइड क्लियर गरिए पनि त्यसपछि काम अघि नबढाइएको छ ।
युवाहरूले नगरपालिका र जनप्रतिनिधिको ध्यानाकर्षण गराउन तालाबन्दी गरिएको बताएका छन् ।
यता नगर प्रमुख विनोदकुमार साह तेलीले भने स्थानीयले सडकको अतिक्रमण हटाउन अटेरी गरेकाले निर्माणमा समस्या भएको बताएका छन् । उनका अनुसार गत वर्ष नै धनकौल पूर्वारीमा सडक र नाला निर्माणका लागि ठेक्का लागे पनि स्थानीय अवरोधका कारण काम हुन नसक्दा करिब दुई करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।
४० फिट चौडा सडक बनाउने गरी टेन्डर भए पनि स्थानीयको विरोधपछि ३३ फिटमा सहमति गरिएको तर त्यसपछि पनि आवश्यक क्षेत्र खाली गराउन नसकिएको नगर प्रमुखको भनाइ छ ।