सिराहा नगरपालिका–१५ बुधौराबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका–३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका–१२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही स्थानका २१ वर्षीय अरविन सिंह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गत चैत २४ गते साँझ करिब ७:०० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको तीन वटा प्लास्टिकको पोकामा ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त पदार्थको तौल प्लास्टिकसहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ५०० मिलिग्राम रहेको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ । उनीहरूलाई चैत २५ गते सिराहा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिएका छन् ।