पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित नवनिर्मित बेहाई पुलमा बिहीबार बिहान बेवारिसे अवस्थामा एक मोटरसाइकल भेटिएपछि स्थानीय क्षेत्रमा केहीबेर सनसनी मच्चिएको छ ।
बिहान मोर्निङ वाकमा निस्किएका स्थानीयवासीहरूले पुलमा लडेको मोटरसाइकल देखेपछि नजिक पुग्दा जुत्ता, जुराब, पाइन्ट र टिसर्ट छरपस्ट अवस्थामा देखेका थिए । घटनास्थलको दृश्य हेर्दा अपहरण वा कुटपिटको घटना हुन सक्ने आशंका स्थानीयले गरेका थिए ।
खबर फैलिएसँगै घटनास्थलमा मानिसहरूको भीड बढ्दै गयो । केही स्थानीय पुलमुनि र नजिकैको खोल्सी तथा झाडी क्षेत्रमा खोजतलासमा लागे भने कसैले प्रहरीलाई खबर गरेका थिए ।
यसैबीच मौसम खराब भई वर्षा सुरु भएपछि स्थानीयहरू घर फर्किएका थिए । त्यसलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। संयुक्त टोलीले पुलमा लडेको प्र–२–०१–००३ प ५४२७ नम्बरको यामाहा एफजेड–५ मोटरसाइकल उठाएर सुरक्षित राख्दै अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले घटनास्थलमा फेला परेका कपडाहरूको जाँच गर्दा पाइन्टको खल्तीबाट नगद २ हजार २ सय रुपैयाँ, चस्मा र सुर्तीसमेत बरामद गरेको थियो ।
यसैबीच एक अधबैसे पुरुष घटनास्थलमा आइपुगी मोटरसाइकल तथा कपडा आफ्नो भएको दाबी गरेका थिए । आफू सिरहाको नहान नगरपालिका–२४ गोविन्दपुरका ४२ वर्षीय रविन्द्र झा भएको परिचय दिएका उनले राति महुलीमा मदिरा सेवन गरेर रुपनीतर्फ जाने क्रममा अचेत भई मोटरसाइकल र कपडा त्यहीँ छाडिएको बताएका छन् ।
उनका अनुसार आफू मोटरसाइकलको पछाडि सवार भएर आएका थिए र अत्यधिक मदिरा सेवनका कारण के भएको हो भन्ने पूर्ण रूपमा सम्झन नसकेको बताए । उनी घटना स्थलभन्दा करिब एक किलोमिटर पूर्वमा रहेको गोठमा अर्धनग्न अवस्थामा रात बिताएको पनि बताएका छन् ।
महाविद्यालय क्याम्पस राजविराजमा कार्यरत रहेको बताउने उनले साथीहरूसँग महुली क्षेत्रमा मदिरा सेवन गर्न गएको जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय महुलीका प्रमुख प्रहरी नायब निरीक्षक हरि बहादुर पौडेलले झालाई सोधपुछका लागि नियन्त्रणमा लिई मोटरसाइकल तथा बरामद सामग्रीसहित थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएका छन् ।