वीरगंज महानगरपालिका वडा नम्बर २९ बस्डिलवामा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुशील कुमार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन् ।
कार्यक्रममा स्थानीयहरूले आफ्नो दैनिक जीवनसँग जोडिएका विभिन्न समस्या स्पष्ट रूपमा राखेका थिए । वर्षायाममा हुने बाढी नियन्त्रणका लागि प्रभावकारी तटबन्ध निर्माण, आवतजावत सहज बनाउन पुल निर्माण, किसानहरूका लागि समयमै मलखादको व्यवस्था तथा विद्यालयमा थप कक्षाकोठा विस्तार जस्ता अत्यावश्यक मागहरू स्थानीयहरूले उठाएका थिए ।
स्थानीयहरूको गुनासाे सुनेपछि सांसद सुशील कुमार कानुले यी विषयहरू सामान्य गुनासा मात्र नभई जनताको जीवनसँग प्रत्यक्ष जोडिएका संवेदनशील मुद्दा भएको बताएका छन् । उनले सम्बन्धित निकायसँग समन्वय गरेर समस्याको शीघ्र समाधानतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
“जनताको आवाज नै हाम्रो मार्गदर्शन हो, अब समाधानतर्फ दृढ कदम चाल्ने समय आएको छ,” सांसद कानुले बताए ।
उक्त कार्यक्रममा रास्वपा नेता सुधिर पटेल, क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष फैयाज मिया लगायतको उपस्थिति रहेको थियो ।