पर्सा प्रहरीले मध्यरातमा वीरगंजमा सञ्चालनमा रहेका क्यासिनोहरूमा आकस्मिक छड्के अनुगमन गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले शहरका प्रमुख तीन क्यासिनोमा एकैपटक अनुगमन गरेको हो ।
प्रहरी टोलीले वीरगंजस्थित किङ क्यासिनो, सुरज होटलमा सञ्चालित क्यासिनो तथा सरोबर पोटिकामा सञ्चालनमा रहेका क्यासिनोहरूमा विस्तृत चेकजाँच गरेको जनाएको छ । अनुगमनका क्रममा क्यासिनो परिसर, खेल क्षेत्र तथा प्रवेशद्वारमा विशेष निगरानी गरिएको थियो ।
प्रहरीका अनुसार उक्त अनुगमनको मुख्य उद्देश्य नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा लगाइएको कानुनी प्रतिबन्धको कार्यान्वयन अवस्था बुझ्नुका साथै सम्भावित अवैध गतिविधि नियन्त्रण गर्नु रहेको थियो ।
अनुगमनका क्रममा कुनै पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको प्रहरीले जानकारी दिएको छ । यसले क्यासिनो सञ्चालकहरूले विद्यमान नियमहरूको पालना गरिरहेको प्रारम्भिक संकेत देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले यस्ता छड्के अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । यसबाट कानुनको प्रभावकारी कार्यान्वयनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।