पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीमा विद्यालयको बाउन्ड्री वाल निर्माणको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
श्री ने.रा.प्रा.वि. टिहुकीको बाउन्ड्री वाल निर्माणबारे भइरहेको छलफल (पञ्चायती) का क्रममा विवाद चर्किँदा कुटाकुट भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।
झडपमा बडकी टिहुकीका ४० वर्षीय रमेश साह, २० वर्षीय राजकुमार गिरी, ४३ वर्षीय संजय साह कानु र ४९ वर्षीय बुचुन मियाँ घाइते भएका छन् । घाइतेमध्ये रमेश साह र राजकुमार गिरीको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्युरो अस्पतालमा रिफर गरिएको छ ।
स्थानीयका अनुसार विद्यालय नजिक रहेको सिँचाइको जमिनलाई समेटेर बाउन्ड्री वाल निर्माण गर्ने विषयमा एक पक्ष अडानमा रहेपछि अर्को पक्षसँग विवाद उत्पन्न भई झडपमा परिणत भएको हो। विद्यालय प्रशासनले विद्यालयको स्वामित्वमा रहेको जग्गाभित्र मात्र बाउन्ड्री वाल निर्माण गर्न खोजे पनि केही स्थानीय राजनीतिक व्यक्तिहरूले नजिकको सिँचाइ जमिनसमेत समेट्न दबाब दिँदा विवाद चर्किएको बताइएको छ ।
घटनामा संलग्न व्यक्तिहरू झडपपछि फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।