स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिदाको दिन पनि सरकारी अस्पतालहरूमा ओपीडी (बहिरंग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कामको चाप र जनशक्ति व्यवस्थापनलाई ध्यानमा राख्दै सेवा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिका आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
यसका साथै कर्मचारीहरूलाई शनिबारबाहेक हप्तामा अर्को एक दिन गरी दुई दिन बिदा दिने वा आवश्यक परे सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने तथा कर्मचारीलाई साप्ताहिक दुई दिन बिदा सुनिश्चित गर्ने ।”
प्रादेशिक अस्पतालहरूमा समेत यो व्यवस्था लागू गर्न निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
यसैबीच, निर्देशन अनुसार Narayani Hospital मा पनि आइतबार ओपीडी सेवा सञ्चालन हुने भएको छ। अस्पतालका मेसु डा. चित्तरञ्जन साहका अनुसार आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओपीडी सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।
सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयको निर्देशनपछि आइतबारको सेवा निरन्तर रहने भएको हो ।