जिल्ला प्रशासन कार्यालय बाराले कारागार शाखाको नाममा रहेको सरकारी जग्गामा भएको अतिक्रमण हटाउन सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित सूचनाअनुसार कलैया उपमहानगरपालिका–४ (साविक कलैया गाविस–५) स्थित कारागार शाखाको कित्ता नं. १०३, १०२ र ४४४ मा अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाउन निर्देशन दिइएको हो ।
प्रशासनले गरेको स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा विभिन्न व्यक्तिहरूले लामो समयदेखि कुनै पनि सरकारी निकायसँग सम्झौता वा अनुमति नलिई ती जग्गाहरूमा स्थायी तथा अस्थायी संरचना निर्माण गरी उपभोग गरिरहेको पाइएको जनाएको छ । बिना अनुमति सरकारी जग्गा कब्जा गरी गरिएको बसोबास तथा निर्माण कार्य गैरकानुनी भएको प्रशासनले स्पष्ट पारेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(६)(क) बमोजिम जारी गरिएको उक्त सूचनामा प्रकाशन भएको मितिले एक महिनाभित्र सम्पूर्ण अतिक्रमण हटाइसक्न निर्देशन दिइएको छ ।
तोकिएको समयसीमाभित्र संरचनाहरू नहटाएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने र आवश्यक परे प्रशासन आफैंले संरचना हटाउने चेतावनीसमेत दिइएको छ ।