सप्तरी प्रहरीले १० वर्षअघिको मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको आरोपमा बोदेबर्साईन नगरपालिका–८ का शिवकुमार साहलाई बुधबार राजविराज–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
२०७२ वैशाख २३ गते साविक काचन गाविस–६ स्थित सार्वजनिक बाटोबाट शिवकुमार साह र सुन्दर कुमार ठाकुरले स ३प ६२० नम्बरको मोटरसाइकलमा एक व्यक्तिलाई भारत घुमाउन लैजाने बहानामा लगेर ओसारपसार गरेको आरोप रहेको प्रहरीले जनाएको छ । उक्त घटनासँग सम्बन्धित मुद्दामा लामो समयदेखि फरार रहेका साहलाई अहिले पक्राउ गरिएको हो ।
पक्राउ परेका साहलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले अन्य दुई फरक मुद्दाका प्रतिवादीलाई पनि पक्राउ गरेको छ ।
चोरी मुद्दामा राजविराज नगरपालिका–४ का गणेश कुमार साहलाई पक्राउ गरिएको छ । उनलाई राजविराज–३ स्थित नगमा सहिनको घरको मूल गेटको ताल्चा फुटाएर दराजबाट सुनका गहना चोरी गरेको आरोप लागेको छ ।
यस्तै, ज्यान मार्ने उद्योग मुद्दामा तिलाठी कोइलाडी गाउँपालिका–८ का ‘बिजुली’ उपनामले चिनिने अरुणकुमार देवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई सोही स्थानका रामप्रसाद यादवलाई बाँसको लट्ठी, फलामको रड, खुकुरी, भाला र फर्सा जस्ता घरेलु हतियार प्रयोग गरी गम्भीर कुटपिट गरेको आरोप लागेको छ ।
दुवै जनालाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।