पर्सा, बारा, रौतहट लगायत आसपासका जिल्लाका माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै ‘भविष्य मेला २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
पहिलो संस्करणको उल्लेखनीय सफलतापछि यस वर्ष मेला अझ भव्य, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने लक्ष्यसहित आगामी वैशाख ५ गते शनिबार वीरगंजस्थित सिद्धार्थ दियालो होटलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म आयोजना गरिनेछ ।
वीरगंजकै एड्स बी मिडियाको आयोजनामा हुने एकदिने शैक्षिक तथा करियर मेलामा ८ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार ‘भविष्य मेला’ केवल शैक्षिक प्रदर्शनी मात्र नभई विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत भविष्य निर्माण गर्ने परिवर्तनकारी मञ्च हो । उनका अनुसार मेलाले वीरगंज तथा आसपासका क्षेत्रमा शैक्षिक जागरूकता अभिवृद्धि गर्नुका साथै सामाजिक–आर्थिक प्रगतिमा समेत टेवा पुर्याउनेछ ।
मेलाको मुख्य उद्देश्य पर्सा, बारा र रौतहटका ग्रामीण तथा सहरी क्षेत्रका विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा तथा प्राविधिक शिक्षासम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउनु रहेको छ ।
मेलामा विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता, पारिवारिक आर्थिक अवस्था तथा दीर्घकालीन लक्ष्यअनुसार उपयुक्त शैक्षिक संस्था र विषय छनोट गर्न मार्गदर्शन प्रदान गरिनेछ । यसले शैक्षिक समानता प्रवर्द्धन गर्नुका साथै करियर तयारीमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।
विशेषगरी ग्रामीण तथा विपन्न समुदायका विद्यार्थीहरूलाई मेरिट तथा आवश्यकताका आधारमा छात्रवृत्ति, किफायती शैक्षिक कार्यक्रम तथा वित्तीय सहायता उपलब्ध गराउने व्यवस्था गरिने आयोजकले जनाएका छन् ।
गत वर्ष वीरगंजको नगर सभागृह (टाउन हल) मा सम्पन्न पहिलो संस्करणमा पर्सा, बारा, रौतहटसहित १० जिल्लाका ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । उक्त मेलामा १८ संस्थागत र १० सामुदायिक गरी २८ कलेजले स्टल राखेका थिए ।
यस वर्षको संस्करणमा थप आकर्षक सुविधा तथा पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार एक जना विद्यार्थीलाई मोबाइल फोन, पाँच जनालाई एयरबड्स तथा १० जनालाई पावर बैंक, हाते घडी लगायतका उपहार प्रदान गरिनेछ ।
त्यसैगरी, सहभागी कलेजहरूले पूर्ण तथा आंशिक छात्रवृत्ति उपलब्ध गराउनेछन् भने विद्यार्थीहरूले निःशुल्क करियर काउन्सिलिङ सेवा पनि प्राप्त गर्नेछन् । काउन्सिलिङमार्फत विषय छनोट, रोजगारीका अवसर, छात्रवृत्ति तथा आफ्नो क्षमता अनुसारको अध्ययन क्षेत्रबारे विशेषज्ञबाट व्यक्तिगत मार्गदर्शन पाइनेछ ।
मेलामा सहभागी शैक्षिक संस्थाहरूले आफ्ना कार्यक्रम, सुविधा, प्रयोगशाला, पुस्तकालय, खेलकुद, उद्योग साझेदारी तथा अन्तर्राष्ट्रिय आदानप्रदानका अवसरहरू प्रस्तुत गर्नेछन् । साथै करियर कार्यशाला, प्रत्यक्ष प्रदर्शनी तथा पूर्व विद्यार्थीका सफलताका कथामार्फत संस्थाहरूले आफ्नो विश्वसनीयता प्रदर्शन गर्नेछन् ।
मेलामा सहभागीहरूका लागि निःशुल्क डिम्याट खाता, बैंक खाता, आँखा परीक्षण शिविर तथा नेपाल टेलिकमको सिम कार्ड वितरणको व्यवस्था गरिएको छ । साथै स्टेशनरी सामग्री, शैक्षिक पुस्तक तथा प्रविधिसम्बन्धी सामग्रीहरू पनि उपलब्ध गराइनेछ ।
वीरगंज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा तथा वीरगंज उद्योग वाणिज्य संघ लगायतका संस्थाहरूको सहकार्यमा मेला आयोजना हुन लागेको हो ।
आयोजक नवीन कार्कीले दोस्रो संस्करणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै यसलाई नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माणतर्फको अभियानका रूपमा अगाडि बढाइने बताए ।
मेलामा सहभागी हुन वीरगंज तथा आसपासका क्षेत्रका एसइई दिएका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा व्यवसायीहरूलाई आयोजकले हार्दिक निमन्त्रणा गरेका छन् ।