सर्लाहीको धनकौलस्थित अन्नपूर्ण सुगर एन्ड जनरल उद्योगले उखु खरिद गरेबापतको बक्यौता रकम वर्षौंदेखि नतिरेपछि स्थानीय उखु किसानहरू गम्भीर आर्थिक संकटमा परेका छन् ।
किसानहरूले २०७४ सालदेखिको आफ्नो मेहनतको मूल्य अझै नपाएको भन्दै निरन्तर आक्रोश र असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
रामनगर नगरपालिका निवासी किसान लालबाबू साहका अनुसार उनले २०७४ सालमा आफ्नो खेतमा उत्पादन गरेको उखु उक्त मिललाई बिक्री गरेका थिए। तर बिक्री भएको लामो समय बितिसक्दा पनि हालसम्म भुक्तानी नपाएको उनले बताए ।
“हामीले वर्षभरि मेहनत गरेर उखु उत्पादन गर्यौं, तर वर्षौं बितिसक्दा पनि पैसा पाइएन,” साहले भने, “मिलले पटक–पटक आश्वासन दिए पनि व्यवहारमा कुनै प्रगति देखिएको छैन ।”
किसानहरूको अनुसार, सुरुमा मिलका पूर्वसञ्चालक राकेश अग्रवालले उद्योग शैलेन्द्र गुप्तालाई बिक्री गरेपछि नयाँ सञ्चालक पक्षले मिल पुनः सञ्चालनमा आएपछि सबै पुराना बक्यौता भुक्तानी गर्ने आश्वासन दिएको थियो । तर हालसम्म पनि सो प्रतिबद्धता कार्यान्वयन नभएको किसानहरूको गुनासो छ ।
स्थानीय किसानहरूका अनुसार, बक्यौता रकम नपाउँदा उनीहरू दैनिक खर्च, ऋण तिर्ने दबाब र कृषि लगानीमा ठूलो समस्या भोग्न बाध्य भएका छन् । कतिपय किसानहरू बैंक तथा सहकारीको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने केहीले नयाँ खेतीका लागि आवश्यक पूँजी जुटाउन पनि कठिनाइ भोगिरहेका छन् ।
यो समस्या लालबाबू साहको मात्र नभई सर्लाहीका दर्जनौं उखु किसानको साझा पीडा बनेको छ। लामो समयसम्म भुक्तानी नपाउँदा किसानहरूको जीवनस्तरमा प्रत्यक्ष असर परेको स्थानीय किसान संघ–संगठनहरूले पनि बताएका छन् ।
किसानहरूले सम्बन्धित निकाय, उद्योग मन्त्रालय तथा स्थानीय प्रशासनसँग तत्काल हस्तक्षेप गरी बक्यौता रकम असुली गर्न माग गरेका छन्। साथै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कडा नियमन र पारदर्शी व्यवस्था लागू गर्न पनि उनीहरूको माग छ ।
स्थानीय स्तरमा किसानहरू आन्दोलित हुने संकेतसमेत देखिन थालेको छ भने सम्बन्धित निकायले तत्काल पहल नगरे अवस्था थप जटिल बन्न सक्ने चेतावनी किसानहरूले दिएका छन् ।