सप्तरी | सप्तरी प्रहरीले बोक्सीको आरोपमा महिलामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका–१ का २४ वर्षीय रामबाबु भनिने रामनारायण यादव, सोही स्थानका रामचन्द्र मण्डल, सुरुङ्गा नगरपालिका–६ का २२ वर्षीय सुनिलकुमार सदा र महदेवा गाउँपालिका–४ का ४६ वर्षीय शेखर मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार रामनारायणलाई २०८१ असोज २७ गते बोदेबर्साइन–१ धनगढी टोलमा निरासी यादवनीलाई बोक्सीको आरोप लगाई गालीगलौज गर्दै कालो मसी र सेतो चुना जबर्जस्ती मुखमा लगाउने प्रयास गरेको घटनामा पक्राउ गरिएको हो ।
त्यसैगरी, सोही स्थानका रामचन्द्र मण्डललाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोदेबर्साइन–१ मनौर टोलस्थित आफ्नै घरअगाडि बसेकी सुजान देवी यादवमाथि प्रतिवादीहरूले गालीगलौज गर्दै बाँसको लाठी, हात, लात र मुक्काले कुटपिट गरी अभद्र व्यवहार गरेका थिए ।
यसैबीच, सुरुङ्गा नगरपालिका–६ का सुनिलकुमार सदालाई बिहीबार स्थानीय बजार क्षेत्रमा होहल्ला गरिरहेको अवस्थामा प्रहरीले सम्झाउँदा प्रहरी टोलीमाथि गालीगलौज गरी ड्युटीमा बाधा पुर्याएको आरोपमा पक्राउ गरिएको छ ।
त्यस्तै, महदेवा गाउँपालिका–४ का शेखर मण्डललाई बुधबार राजविराज नगरपालिका–२ मा गंगाधरप्रसाद देवमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज, धाकधम्की तथा लछारपछार गरी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका रामनारायण, सुनिलकुमार र रामचन्द्रलाई छ दिन तथा शेखर मण्डललाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिएका छन् ।