राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका सभापति तपेश्वर यादवले पार्टीका सदस्यहरूले गल्ती गरे कुनै पनि हालतमा कारबाही गरिने चेतावनी दिएका छन् ।
शनिबार बाराको कलैयास्थित रास्वपा जिल्ला कार्यसमिति कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले अनुशासनहीन गतिविधिमा संलग्न कार्यकर्तालाई कुनै छुट नहुने स्पष्ट पारे । उद्योग वाणिज्य विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र अनुशासन र पारदर्शिता अनिवार्य रहेको बताए ।
सभापति यादवले हाल भ्रष्टाचार सम्बन्धी विभिन्न फाइलहरूमा धमाधम पक्राउ भइरहेको जानकारी दिँदै राजनीतिक नियुक्ति लिएका करिब ११ सय जनाको सूची तयार भइरहेको बताए । उनले छानबिनमा निर्दोष देखिएका व्यक्तिलाई तत्काल मुक्त गरिने र दोषीमाथि कडा कारबाही हुने बताए । अरूमाथि आरोप लगाउनु अघि आफू नै अनुशासित हुनुपर्नेमा उनले जोड दिए ।
रास्वपाको मुख्य एजेन्डा भ्रष्टाचारमुक्त शासन रहेको उल्लेख गर्दै उनले सुशासन कायम गर्न सबै सदस्यहरूलाई जिम्मेवार बन्न आग्रह गरे । “११ वर्षमा हुन नसकेको काम हामीले ११ दिनमै गरेका छौं,” उनले दाबी गरे ।
उनले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिँदै प्रतिस्पर्धाबाट चयन भएका उम्मेदवारलाई सबैले सहयोग गर्नुपर्ने बताए । “चुनाव हराउने होइन, जिताउनेतर्फ लाग्नुपर्छ, पालो सबैको आउँछ,” उनले भने । पार्टीभित्र ‘राइट टु रिकोल’ को व्यवस्था रहेको र आवश्यक परे प्रतिनिधिलाई फिर्ता बोलाउन सकिने उनले स्पष्ट पारे ।
कार्यक्रममा उद्योग वाणिज्य विभाग, कलैया उपमहानगरपालिका समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । अजयकुमार साहको अध्यक्षतामा राजेश कुमार उपाध्यक्ष रहने गरी ११ सदस्यीय समिति गठन गरिएको रास्वपा बाराका अध्यक्ष चन्दन स्वर्णकारले जानकारी दिए ।
समितिका सदस्यहरूमा राजनकुमार केशरी, जटा शंकर सरार्फ, दीपुप्रसाद गुप्ता, सुनिल कुमार साह, संजय कुमार कापर, प्रियंका पटेल, सीता देवी कुर्मिन, बन्दिता जैसवार र ललिता कुमारी रहेका छन् ।
सोही कार्यक्रममा बोल्दै अध्यक्ष स्वर्णकारले समिति २०८२ फागुन मसान्तमै गठन भई अहिले पूर्णता पाएको बताए । उनले बाराका साना तथा मझौला व्यवसायीहरूको समस्या समाधानमा ध्यान दिन आग्रह गर्दै चाडपर्वको समयमा अनावश्यक जाँचका नाममा व्यापारीलाई दुःख नदिन सम्बन्धित निकायलाई आग्रह गरे ।
उनले स्थानीय उपभोक्तालाई आफ्नै बजारमा किनमेल गर्न र छिमेकी मुलुकतर्फ नजान अनुरोध गरे । बारामा उद्योग वाणिज्य संघका रूपमा सिम्रौनगढ, कोल्हवी, बरियारपुर, जितपुरसिमरा र प्रसौनी क्षेत्रमा संरचना रहेको जानकारी दिए ।
कार्यक्रममा संजय कुमार पटेल, अनिल कुमार साह, लाल मुकेश ठाकुर, कृष्ण कुमार गुप्ता, बाबू योगेन्द्र कुमार, महम्मद ज्याउदिन अन्सारी, उमेश महतो कुशवाहा, रामपुकार साह, महेन्द्र साह तेली, उदय कुमार ठाकुर, करण कुमार कुशवाहा, आनन्द कुमार यादवलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन संजय पटेलले गरेका थिए ।