नेपालप्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राजश्व चुहावट मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंको कुलेश्वर बस्दै आएका ३१ वर्षीय प्रवीण कुमार महतो रहेका छन् । महतो ‘अंकुश सप्लायर्स एण्ड ट्रेडर्स’का सञ्चालक हुन् ।
उच्च अदालत पाटनले २०८१ वैशाख १७ गते महतोलाई राजश्व चुहावट मुद्दामा दोषी ठहर गर्दै ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना तथा १ वर्ष कैद सजाय सुनाएको थियो ।
अदालतको फैसला पछि फरार रहेका महतोलाई सीआईबीको विशेष टोलीले खोजतलास गर्ने क्रममा चैत २७ गते काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका महतोलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । ब्युरोले फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिँदै फैसला कार्यान्वयनमा सक्रियता बढाएको पनि जनाएको छ ।