वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले आयोजना गरेको एकदिने पत्रकार अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ ।
पर्सा, बारा, रौतहट, मकवानपुर तथा चितवन जिल्लाका सञ्चारकर्मीहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विविध विषयमा जानकारी प्रदान गर्नुका साथै सञ्चारकर्मीहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रम नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका प्रमुख सुशील पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सहायक निर्देशक नरेश सर्राफसहित बैंकका अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।
अभिमुखीकरणका क्रममा सहभागी पत्रकारहरूलाई वित्तीय प्रणाली, बैंकिङ सेवा, डिजिटल भुक्तानी प्रणाली, बचत तथा लगानीका उपायहरूबारे विस्तृत जानकारी दिइएको थियो ।
आयोजकले कार्यक्रममार्फत आम नागरिकमा वित्तीय सचेतना अभिवृद्धि गर्न सञ्चारकर्मीहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेको छ ।
कार्यक्रमको समापनमा सहभागी पत्रकारहरूले यस्ता तालिम तथा अभिमुखीकरणले आफ्नो पेशागत क्षमता वृद्धि हुनुका साथै जनतालाई सही वित्तीय जानकारी प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।