बारा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बाराका अनुसार जिल्लाभित्रका सबै विषयहरूको उत्तरपुस्तिका परीक्षण जिल्लामै गरिएको हो ।
इकाइका निमित्त प्रमुख अशोक कुमार रौनियारका अनुसार परीक्षण सम्पन्न भएका उत्तरपुस्तिकाको नतिजा प्रमाणीकरण गरी आजै ( चैत ३० गते ) राष्ट्रिय परीक्षा बोर्डमा बुझाइनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमन्त पोखरेलले कार्यभार सम्हालेपछि एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार बोर्डले उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाटै गर्ने व्यवस्था मिलाएपछि काममा तीव्रता आएको हो ।
यस वर्ष बाराबाट साधारण नियमिततर्फ ८ हजार ३७७ जना परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै २०८० र २०८१ को ग्रेड वृद्धितर्फ १ हजार ९३३ जना र २०७९ को ग्रेड वृद्धितर्फ ६६ जना परीक्षार्थी रहेका छन् ।
प्राविधिक धारतर्फ नियमित ३७५ र ग्रेड वृद्धितर्फ ६३ गरी कुल ४३८ जना विद्यार्थी सहभागी भएका छन् । जिल्लाभरबाट कुल १० हजार ८१३ जना परीक्षार्थी सहभागी भएको यस वर्षको परीक्षामा १०२ सामुदायिक र ५३ संस्थागत विद्यालय समेटिएका छन् ।