पर्साको वीरगंज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएपछि क्षेत्र नै स्तब्ध बनेको छ ।
आइतबार अपराह्न प्रहरी जवान विकास चौरसियामाथि अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो । सप्तरी दरबन्दी भई बिदामा घर आएका चौरसियामाथि केही युवकको समूहले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए ।
प्रारम्भिक जानकारीअनुसार आक्रमणकारीहरूले भारी वस्तु प्रयोग गरी चौरसियामाथि निर्घात कुटपिट गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
गम्भीर घाइते अवस्थामा रहेका चौरसियालाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न चार जना आरोपीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरिसकेको छ । पक्राउ परेकामाथि हाल सूक्ष्म अनुसन्धान जारी रहेको र थप विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले व्यक्तिगत सम्बन्ध, विशेषगरी एक महिलासँगको प्रेम सम्बन्धका कारण विवाद चर्किँदा घटना भएको हुन सक्ने संकेत गरेको छ ।