वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोक नजिक सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
सोमबार बिहान भएको उक्त दुर्घटनामा सशस्त्र प्रहरीको ना. १ झ १५३१ नम्बरको स्कार्पियो गाडीले प्रदेश २–००१–प १६२९ नम्बरको प्लाटिना मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक वीरगंज–३२ चोर्नी निवासी दिपेन्द्र श्रीवास्तव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार घाइते श्रीवास्तवको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयका अनुसार ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो । चिनी र तेल लोड गरिएको मोटरसाइकललाई सशस्त्र प्रहरीको गाडीले जानाजान लेन मिचेर ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले आरोप लगाएका छन् ।
घटनापछि स्थानीयले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई जानकारी गराएका थिए । त्यसपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) धिरेन्द्र थपलियाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
तर, स्थानीयले घटना विवरण दिँदा प्रहरीबाट उल्टै थर्काइएको आरोप समेत लगाएका छन् ।
यस सम्बन्धमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगर विदामा रहेकाले सई थपलियासँग सम्पर्क गर्न खोजिए पनि सम्पर्क हुन सकेन ।