गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा राजस्व सङ्कलनतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ । कार्यालय प्रमुख विकासकुमार रजकका अनुसार गत वर्षको तुलनामा यस वर्ष लक्ष्यअनुसार उच्च उपलब्धि प्राप्त भएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ लक्ष्य राखिएकोमा २९ करोड ९१ लाख ३० हजार रुपैयाँ मात्र सङ्कलन भएको थियो। तर चालु आर्थिक वर्षमा ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ लक्ष्य राखिएकोमा २०८२ चैत २८ गतेसम्म ३० करोड १८ लाख २ हजार ८१८ रुपैयाँ अर्थात् ९०.६३ प्रतिशत राजस्व सङ्कलन भइसकेको छ ।
मासिक रूपमा पनि उल्लेखनीय सुधार देखिएको छ । गत वर्षको मङ्सिरमा १००.५१ प्रतिशत सङ्कलन भएकोमा यस वर्ष १७०.१७ प्रतिशत पुगेको छ । पुस महिनामा ११७.८९ प्रतिशतबाट बढेर २१३.०५ प्रतिशत पुगेको छ । माघमा ८०.५० प्रतिशतबाट १२८.६१ प्रतिशत र फागुनमा ९३.१५ प्रतिशतबाट १०७.९० प्रतिशत पुगेको छ। चैत महिनामा गत वर्ष ६५.९६ प्रतिशत मात्र रहेकोमा चालु वर्षमा चैत २८ गतेसम्म १५१.८२ प्रतिशत सङ्कलन भएको छ । समग्रमा हालसम्म लक्ष्यको १२३.४३ प्रतिशत प्रगति हासिल भएको कार्यालयले जनाएको छ ।
राजस्व वृद्धि हुनुको मुख्य कारण कोइला, गुड (सख्खर) र टायल्सको आयात बढ्नु तथा मुद्दा फर्छ्यौट गरी मालसामान र सवारी साधन समयमै लिलाम बिक्री हुनु रहेको प्रमुख रजकले जानकारी दिनुभयो । चालु वर्षमा मुद्दा सङ्ख्या घटेको र भएका मुद्दाहरू पनि छिटो फर्छ्यौट गरिएको बताइएको छ ।
लिलाम बिक्रीबाट मात्रै चालु आर्थिक वर्षमा हालसम्म ४२ लाख ५२ हजार ८०७ रुपैयाँ राजस्व सङ्कलन भएको छ । साथै, भेनियर र पीभीसी पाइप निकासीबाट पनि गत वर्षको तुलनामा बढी आम्दानी भएको देखिएको छ ।
यद्यपि, कार्यालयमा प्लान्ट क्वारेन्टाइन सुविधा नहुँदा खाद्यान्न जाँचपासमा समस्या रहेको छ । रौतहटमा हरेक वर्ष आउने बाढीका कारण उत्पादन घट्ने हुँदा मलङ्गवा र वीरगन्ज भन्सारबाट आयातित खाद्यान्नमा निर्भर रहनुपर्ने अवस्था रहेको छ ।
चालु आर्थिक वर्षमा चैत महिनाभित्रै लक्ष्य नजिक पुग्नु र अधिकांश महिनामा शतप्रतिशतभन्दा बढी प्रगति हुनु भन्सार कार्यालयको कार्यक्षमतामा सुधार आएको संकेत भएको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।