महोत्तरी । महोत्तरी जिल्लाका किसानहरू यतिबेला चैते बालीअन्तर्गत गहुँ, रहरलगायत दलहन बाली भित्र्याउन तीव्र रूपमा जुटेका छन् । बेमौसमी हावाहुरी र वर्षाको जोखिम बढेसँगै सम्भावित क्षति टार्न उनीहरू हतार–हतारमा खेतमै खटिन बाध्य भएका हुन् ।
बिहानदेखि बेलुकासम्म किसानहरू गहुँ काट्ने, थ्रेसरमार्फत दाना छुट्याउने र सुरक्षित भण्डारण गर्ने काममा व्यस्त देखिन्छन् । समयमै बाली भित्र्याउन नसके ठूलो नोक्सानी हुने डरले उनीहरूको कामको चाप उल्लेखनीय रूपमा बढेको छ।
औरही नगरपालिका–२ का किसान दिनेश यादवका अनुसार चैत–वैशाख महिनामा हावाहुरी र वर्षाको सम्भावना उच्च हुने भएकाले बाली जोगाउन निकै हतार गर्नुपरेको छ । “गहुँ छिटो काटेर थ्रेसरबाट दाना छुट्याउनुपर्ने बाध्यता छ,” उनले भने, “ढिलाइ भयो भने बाली नष्ट हुने जोखिम हुन्छ ।”
अर्का किसान पञ्चलाल कापरले पनि यस वर्ष मौसम अत्यन्त अनिश्चित रहेको बताउँदै ढिलाइ गर्नै नसकिने अवस्था रहेको जनाए । “कहिले हावाहुरी, कहिले पानी पर्ने डरले काम रोक्न मिल्दैन,” उनले भने, “गहुँ पाकिसकेको अवस्थामा ढिला भयो भने झर्ने वा बिग्रने खतरा उच्च हुन्छ ।”
यता, डिजेल तथा अन्य इन्धनको मूल्यवृद्धिले कृषि कार्यको लागत झन् बढाएको किसानहरूको गुनासो छ। ट्र्याक्टर तथा थ्रेसर सेवाको भाडा महँगिँदा उत्पादन खर्च बढ्दै गएको उनीहरू बताउँछन् ।
स्थानीय किसान पिडा यादवका अनुसार ट्र्याक्टरले खेत जोत्दा प्रतिघण्टा करिब २२ सय रुपैयाँसम्म लिने गरिएको छ। “इन्धन महँगिएको बहानामा सेवा प्रदायकहरूले मनोमानी भाडा असुलिरहेका छन्, जसले साना किसानलाई बढी मारमा पारेको छ,” उनले गुनासो गरे ।
यसैबीच मजदुर अभावले पनि किसानहरूलाई थप समस्या पारेको छ। बाली भित्र्याउने मुख्य सिजनमै पर्याप्त कामदार नपाउँदा काम ढिलाइ भइरहेको उनीहरूको भनाइ छ । समयमै बाली भित्र्याउन नसके उत्पादनमा ठूलो क्षति हुने भन्दै किसानहरूले सम्बन्धित निकायसँग आवश्यक सहजीकरण र सहयोगको माग गरेका छन् ।
यता कृषि प्राविधिकहरूले सम्भावित हावाहुरी, असिना तथा वर्षालाई ध्यानमा राख्दै सकेसम्म छिटो बाली भित्र्याउन किसानहरूलाई सुझाव दिएका छन् ।



