जनकपुरधाम । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जनकपुरधामबाट सुरु भएको स्वच्छ, सफा तथा सुन्दर सहर निर्माण अभियान प्रदेशभर विस्तार गरिने बताएका छन् ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सार्वजनिकस्थल संरक्षण, सरसफाइ र अतिक्रमण हटाउने अभियान मधेस प्रदेशका सबै १३६ पालिकामा सञ्चालन गरिने जानकारी दिए ।
मन्त्री महतोका अनुसार गत चैत २७ गते जनकपुरधाममा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग भएको समन्वय बैठकमा सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा सरसफाइलाई प्रभावकारी बनाउन निर्देशन दिइएको थियो ।
उनले प्राचीन मिथिलाको राजधानीका रूपमा परिचित जनकपुरधामका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए ।
प्रदेश सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै उनले विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास भइरहेको पनि बताए ।