सशस्त्र प्रहरीले पछिल्लो साढे दुई महिनाको अवधिमा बारामा एक करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले कार्यभार सम्हालेयताको विवरण सार्वजनिक गर्दै १ करोड १४ लाख रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएका छन् । उनी माघ १८ गतेदेखि बारामा कार्यरत छन् ।
पछिल्लो कारबाहीअन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नारायण पौडेलको नेतृत्वमा खटिएको टोलीले वैशाख १ गते करिब १३ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । बरामद सामग्रीमा कपडा, चकलेट र मोबाइलका पार्टपुर्जाहरू रहेका छन् ।
यसैगरी बिओपी पिपरपातीबाट खटिएको टोलीले वैशाख २ गते बिआर ०५ बी २५८४ नम्बरको मोटरसाइकलसहित १ लाख ५७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ ।
त्यस्तै बिओपी बरैनियाको टोलीले बिआर ०१ बीजी ९१०७ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइँदै गरेको अवैध कपडा नियन्त्रणमा लिएको छ ।
गणपति सिलवालका अनुसार सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि सक्रियता बढाइएको छ। उनले सबै युनिटलाई शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् ।
सीमा क्षेत्रमा हुने चोरी–पैठारी रोक्न गणबाट समेत वरिष्ठ अधिकृतको नेतृत्वमा दुईवटा विशेष टोली २४सै घण्टा आकस्मिक जाँचका लागि परिचालन गरिएको जानकारी दिइएको छ ।