नेपालको संविधान–२०७२ जारी भएको विरोधमा भएको दोस्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका मन्सी पटेल अझै पनि पूर्ण रूपमा निको हुन सकेका छैनन् ।
करिब ११ वर्ष बितिसक्दा पनि उनी निरन्तर उपचारमै रहे पनि स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आउन नसकेको परिवारजनले जनाएको छ ।त्यतिबेला मात्र २२ वर्षका रहेका पटेल आन्दोलनका क्रममा गोली लागेर ढाडमुनिको भाग पूर्ण रूपमा निष्क्रिय बन्न पुगेका थिए । त्यसयता उनी हिँडडुल गर्न नसक्ने अवस्थामा छन् भने अधिकांश समय ओछ्यान वा ह्वीलचेयर मै बिताउन बाध्य भएका छन् । दीर्घकालीन उपचारको आवश्यकता भए पनि आर्थिक अभावका कारण उचित स्वास्थ्य सेवा पाउन नसकेको परिवारको गुनासो छ ।
हालै नारायणी अस्पतालले थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर र वीर अस्पतालमा रिफर गरे पनि आर्थिक संकटका कारण उनी घरमै बस्न बाध्य भएका छन् । परिवारका अनुसार यात्रा खर्च, अस्पताल खर्च र दीर्घकालीन उपचार व्यवस्थापन गर्न नसक्दा सिफारिस गरिएका अस्पतालसम्म पुग्न समेत कठिन भएको छ ।
लामो समयदेखि एकै ठाउँमा बसिरहनु पर्दा पटेल ‘बेडसोर’ (Bed Sore) समस्याबाट समेत ग्रसित भएका छन् । पछिल्लो समय ज्वरो आउने, बान्ता हुने, खाना नपच्ने जस्ता थप स्वास्थ्य समस्या देखिँदै गएको चिकित्सकहरूले बताएका छन् । समय मै प्रभावकारी उपचार नपाए अवस्था झन् जटिल बन्न सक्ने चिकित्सकहरूको चिन्ता रहेकाे छ ।
आर्थिक अवस्था कमजोर रहेको पटेलको परिवारसँग चार कट्ठा जमीन र एउटा सामान्य घडेरीबाहेक अन्य आयस्रोत छैन । उनकी श्रीमती र आमाले स्याहार–सुसार, औषधि उपचार र दैनिक जीवनयापनका लागि संघर्ष गरिरहेका छन् ।