धनुषाको सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय सबैलाका अनुसार महतोको शव बुधबार राति करिब ११ बजे गणेशमान चारनाथ नगरपालिका–९स्थित कमला सिँचाइ आयोजनाको पूर्वी नहर अन्तर्गत तीन नम्बर पुलमा भेटिएको हो ।
महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रहरीका अनुसार घटनास्थलमा १०/१२ वटा बियरका बोतलसहित अन्य मादक पदार्थका खाली बोतलहरू फेला परेका छन् । प्रारम्भिक अनुसन्धानका आधारमा महतोसहित ८–९ जनाको समूहले सो स्थानमा सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न हुन सक्ने आशंकामा महतोसँगै रहेका भनिएका व्यक्तिहरू हाल फरार रहेका छन् । यस्तै, प्रहरीलाई प्रारम्भिक जानकारी दिने व्यक्ति समेत सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तका अनुसार मृत्युको ठोस कारण हालसम्म खुल्न सकेको छैन । उनले घटनाबारे गहन अनुसन्धान भइरहेको र फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।
मृतक महतोको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ ।
घटनाले स्थानीय क्षेत्रमा त्रास र चासो बढाएको छ भने मृत्युलाई लिएर विभिन्न आशंका व्यक्त भइरहेका छन् । प्रहरीले सबै पक्षबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।