मध्यपूर्वमा जारी द्वन्द्वका कारण डिजेलको मूल्य निरन्तर बढ्दा किसानहरू मारमा परेका छन् । एक महिनामै डिजेलको मूल्य झन्डै दोब्बर भएपछि सिँचाइ र खेत जोत्ने खर्च धान्नै मुस्किल भएको किसानहरूको गुनासो छ।
हाल जिल्लामा डिजेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ । चन्द्रनगर गाउँपालिका – २ बडकुर्बाका किसान रामजोबित महतोका अनुसार हाइब्रिड मकैमा घोगा लागेकाले महँगो डिजेल खर्च गरेर पनि सिँचाइ गर्नुपर्ने बाध्यता छ ।
उनले १५ कठ्ठामा मकै खेती गर्दै आएका छन् । “डिजेल जति नै महँगो भए पनि बाली जोगाउन पम्पसेट चलाउनै पर्छ,” उनले भने, “तर किसानले उत्पादन गरेको मकै र तरकारीको मूल्य भने नबढ्नु अन्याय हो ।”
मधेश क्षेत्रमा बढ्दो गर्मीका कारण मकै र तरकारी सुक्न नदिन बारम्बार सिँचाइ गर्नुपर्ने अवस्था छ, जसले खर्च झन् बढाएको छ ।
डिजेल महँगिएसँगै ट्याक्टर प्रयोगको लागत पनि बढेको छ । ईश्वरपुर नगरपालिका – १० बेलाका किसान लक्ष्मीनारायण चौधरीका अनुसार अहिले ट्याक्टरले एक घण्टा जोतेको २ हजार ५०० रुपैयाँसम्म लिन थालेको छ, जुन पहिले १ हजार ४०० देखि १ हजार ६०० रुपैयाँसम्म थियो ।
“इन्धनको मूल्य बढ्दा किसानलाई ठूलो असर परेको छ,” उनले भने, “तर उत्पादनको मूल्य उस्तै रहँदा झन् समस्या भएको छ ।”
जिल्लामा नेपाल विद्युत प्राधिकरण तथा स्थानीय तहले कृषि विद्युतीकरण विस्तार गरे पनि धेरै ठाउँमा अझै बिजुली नपुगेकाले किसानहरू पम्पसेटकै भरमा सिँचाइ गर्न बाध्य छन् ।