रौतहट | रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह ले नगरपालिकामा भइरहेको गैरकानुनी हस्तक्षेप तत्काल रोक्न आग्रह गर्दै प्रधानमन्त्री बालेन शाह सँग स्पष्ट धारणा माग गरेकी छन् ।
मेयर साहले संविधान र कानुनअनुसार स्थानीय तहलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण गराएकी हुन् । उनले मौलापुर नगरपालिकामा भइरहेका हस्तक्षेपका कारण नियमित कामकारबाही प्रभावित भएको उल्लेख गरेकी छन् ।
उनले नगरपालिकाले सञ्चालन गर्दै आएका ‘फ्री बिजुली, फ्री पानी’ तथा ‘छोरीसँग मेयर कार्यक्रम’ जस्ता लोकप्रिय कार्यक्रमहरूको भुक्तानी केन्द्रको आदेश भन्दै रोकिएकोप्रति आपत्ति जनाएकी छन् । “नगरवासीले मन पराएका कार्यक्रमहरू अवरुद्ध पार्ने प्रयास भइरहेको छ, जुन सामान्य विषय होइन,” उनले लेखेकी छन् ।
नेपाल सरकारले यस्ता कार्यक्रमलाई सहजीकरण गर्नुको सट्टा उल्टै कर्मचारीमार्फत हस्तक्षेप गरी नगरपालिकाको काम अस्तव्यस्त बनाएको आरोप पनि उनले लगाएकी छन् । साथै, माथिल्लो निकायको हवाला दिएर भुक्तानी रोक्ने र सत्तारुढ पक्षबाट अनैतिक चलखेल भइरहेको भन्दै उनले केन्द्र सरकारको स्पष्ट धारणा माग गरेकी छन् ।
मेयर साहले आफूखुशी कर्मचारी नियुक्ति गर्ने, ‘माथिको आदेश’ भन्दै कार्यक्रमको भुक्तानी रोक्ने, सशर्त बजेट कार्यान्वयनमा अनावश्यक हस्तक्षेप गर्ने तथा योजना कार्यान्वयनमा ढिलाइ गराउने जस्ता गतिविधिले स्थानीय सरकारको प्रभावकारिता कमजोर बनाएको उल्लेख गरेकी छन् ।
यसका साथै, नगर प्रमुखको परामर्शबिना कार्यपालिका बैठक बोलाउने, कार्यसूची निर्धारण गर्ने तथा निर्णय प्रमाणीकरणमा समेत अनियमितता देखिएको भन्दै उनले यस्ता गतिविधि गैरकानुनी र शंकास्पद भएको जनाएकी छन् ।
“स्थानीय तहमा खटाइएका कर्मचारीहरू संविधानअनुसार स्थानीय निकायप्रति जिम्मेवार हुने कि संघीय मन्त्रालयको निर्देशनमा मनपरी गर्ने?” भन्दै उनले प्रश्न उठाएकी छन् ।
पछिल्लो समय मौलापुर नगरपालिकाका कार्यक्रम रोक्न संघीय सरकारका कर्मचारी तथा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरू संलग्न रहेको आरोप लाग्दै आएको छ । लोकप्रिय कार्यक्रमहरूको भुक्तानी रोकिएको विरोधमा स्थानीयवासीले चरणबद्ध आन्दोलनसमेत गर्दै आएका छन् ।