डिभिजन वन कार्यालय पर्साले सखुवाप्रसौनी गाउँपालिका–१ अन्तर्गत कोइलाभार मन्दिरदेखि पश्चिम सखुवनिया गाउँ नजिक रहेको अतिक्रमित वन क्षेत्रमा शुक्रबार डोजर चलाएर अतिक्रमण हटाएको छ ।
सब–डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत उज्ज्वल यादवका अनुसार राष्ट्रिय वन र नम्बरी जग्गाबीचको सीमाङ्कन स्पष्ट पार्दै करिब १७ बिघा क्षेत्र खाली गराइएको हो । सीमाङ्कन सुनिश्चित गर्न उक्त क्षेत्रमा ट्रेन्चसमेत खनिएको उनले जानकारी दिए ।
उनका अनुसार अतिक्रमणकारीहरूले भविष्यमा खेती, घर निर्माण वा टहरा नबनाउने सर्तमा वन र निजी जग्गाको सीमा छुट्याइएको हो । खाली गरिएको क्षेत्रमा छिट्टै तारबार गरी वृक्षारोपण गर्ने तयारी रहेको बताइएको छ ।
विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रिजवान अन्सारीले वन अतिक्रमण हटाउने अभियान निरन्तर रूपमा अघि बढाइने बताए ।
अभियानमा वन कर्मचारी, साझेदारी वन उपभोक्ता समितिका प्रतिनिधि, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहभागिता रहेको थियो । यसअघि सब–डिभिजन वन कार्यालय मनवाले अतिक्रमित संरचना हटाउन एक दिनको समयसीमा दिँदै सूचना जारी गरेको थियो ।