बारा | बाराको परवानीपुर गाउँपालिका–३ स्थित बजार क्षेत्रमा सोमबार बिहान करिब ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृतकको शरीरमा चोटपटक देखिएकाले उनलाई कुनै सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार घटनास्थलको अवस्था हेर्दा ट्याक्टरले ठक्कर दिएको र त्यसपछि नजिकैको स्थानमा शव ल्याएर छाडिएको हुनसक्ने आशंका गरिएको छ ।
स्थानीयका अनुसार आइतबार राति सोही क्षेत्रमा ट्याक्टरमार्फत माटो खसालिएको थियो। सोही क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गर्दै प्रहरीले सम्बन्धित ट्याक्टरको खोजी सुरु गरेको जनाएको छ ।
मृतकको हालसम्म सनाखत हुन सकेको छैन। स्थानीय बासिन्दाका अनुसार ती पुरुष लामो समयदेखि बजार क्षेत्रमा सडक मानवका रूपमा बस्दै आएका थिए ।
प्रहरीले मृतकको पहिचानका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ भने घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ ।