रौतहट | रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लवकुमार सिंहविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतको फैसला बमोजिम दाखिला–खारेज पुर्जी गरी जग्गा फुकुवा गराइदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा सिंहविरुद्ध अभियोग दायर गरेको हो ।
आयोगका अनुसार सिंहले रोक्का रहेको जग्गा फुकुवा गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि हेटौंडाबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
घटनापछि आयोगले थप अनुसन्धान अघि बढाउँदै प्रमाण संकलन गरेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
अख्तियारले सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप सशक्त बनाइएको पनि जनाएको छ ।