रौतहट जिल्ला अदालतमा कार्यरत लेखापढी कर्मचारी लवकुमार सिंहविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।
आयोगका अनुसार सिंहले अदालतको फैसलाअनुसार दर्ता–खारेज पुर्जी रोक्का रहेको जग्गा फुकुवा गरिदिने नाममा सेवाग्राहीसँग घूस माग्दै आएका थिए । उनले विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिँदै रकमका लागि बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ ।
यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसूर ठहर हुने भएकाले बिगो ५० हजार रुपैयाँ कायम गरी सोही ऐन बमोजिम कैद तथा जरिवाना मागदाबी गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।