जिल्लाको सिम्रौनगढ नगरपालिका–६ गोलागंजबाट ७ किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय अन्दाजी ३० वर्षीय विश्वनाथ मलिक डोम रहेका छन्। जिल्ला प्रहरी कार्यालय बारा का अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ७ किलो गाँजा बरामद गरेको जनाएको छ। निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार पक्राउ परेका डोममाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
उनलाई बारा जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।