जिल्ला प्रहरी कार्यालय सप्तरी ले जबर्जस्ती करणी प्रयासको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–८ निवासी २२ वर्षीय सुरजप्रकाश मण्डल रहेका छन् ।
प्रहरीका अनुसार वैशाख २१ गते राति करिब १ बजे मण्डलले स्थानीय एक बालिकाको घरमा प्रवेश गरी जबर्जस्ती करणी गर्न खोजेको भन्दै पीडित पक्षले जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरी का प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ परेका मण्डलविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।
यसैबीच, अभद्र व्यवहार सम्बन्धी अर्को घटनामा भारत, उत्तर प्रदेशस्थित फत्तेपुर गयन्द बरिपुर हावई निवासी २५ वर्षीय पुरुषोत्तम सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अग्नीसाइर कृष्णासवरन गाउँपालिका–१ मा सोमबार सिंहले चलाएको यूपी ४१ बीटी ६७५६ नम्बरको ट्रकले प्र १–०२–००१ ज ३८३७ नम्बरको म्याजिक गाडीलाई ठक्कर दिएको थियो । घटनाबारे सोधपुछ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको डिएसपी पुरीले बताए ।
सिंहविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।