पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ चौताराचोकमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय ठोरी बाट खटिएको नियमित चेकिङ टोलीले ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार बसमा सवार जिल्ला चितवनको माडी नगरपालिका–८ निवासी १९ वर्षीय विश्वास परियारको शरीर तलासी गर्दा उनको दाहिने खल्तीमा कालो प्लास्टिकभित्र ‘Laborate’ लेखिएको निलो रंगको २ सय २५ क्याप्सुल र बाँया खल्तीमा २ सय ५० क्याप्सुल गरी जम्मा ४ सय ७५ क्याप्सुल लागूऔषध जस्तो देखिने वस्तु फेला परेको हो ।
बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।