संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विशेष आर्थिक क्षेत्र (सेज) सिमराको जग्गा भाडा घटाएपछि उद्योग स्थापनाको क्रम ह्वात्तै बढेको छ । साबिकको प्रतिवर्ग मिटर २० रुपैयाँ रहेको भाडा घटाएर ५ रुपैयाँ कायम गरिएसँगै यस वर्ष मात्रै करिब एक दर्जन नयाँ उद्योग निर्माणाधीन अवस्थामा पुगेका छन् ।
सेज साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार हाल निर्माणाधीन उद्योगमध्ये आधाभन्दा बढीमा भारतीय र चिनियाँ लगानी रहेको छ । भारतको एजिएल समूह र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा करिब ५ सय करोड रुपैयाँको नेपोभिट सेरामिक्स प्रालि निर्माणाधीन छ, जसले टायल र सेनिटरी सामग्री उत्पादन गर्नेछ ।
त्यस्तै, दक्षिण कोरियाली लगानी रहेको केमेक्स हिमालयले श्रृङ्गार सामग्री उत्पादन गर्नेछ भने नेपाली–भारतीय संयुक्त लगानीको रेम्बो ग्रेनाइट प्रालिले ग्रेनाइट उत्पादन गर्ने तयारी गरेको छ । पाम तेल उत्पादन गर्ने इन्डो एग्रो, पूर्ण भारतीय लगानीको ओमकार प्रालि (ग्रेनाइट), चिनियाँ लगानीको ग्याङ उइङ बायो टेक्नोलोजी (औषधिको कच्चा पदार्थ) तथा नेपाली–चिनियाँ संयुक्त लगानीको ला डी कर प्रालि (एल्युमिनियम) पनि निर्माणको चरणमा रहेका छन् ।
यसैगरी, भारतीय लगानीको ओम मेगा श्री प्रालिले डाइपर र सेनिटरी प्याड उत्पादन गर्ने पूर्वाधार निर्माण गरिरहेको छ भने हुलास समूहको हुलास केवल प्रालि तार उत्पादनका लागि तयार गर्दैछ । ‘मा तारा प्रालि’ ले मसला उत्पादन गर्ने योजना अघि बढाएको छ भने एभरेष्ट फेसन प्रालिले हस्तकला सामग्री उत्पादन गरी पूर्ण रूपमा निर्यात गर्ने लक्ष्य लिएको छ ।
यी उद्योगहरू सञ्चालनमा आएपछि थप करिब १ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ ।
यसअघि सेजमा ७ उद्योग सञ्चालनमा छन्, जसमा पशुपति सेरामिक्स, ब्रिलिएन्ट शुज, लक्ष्मी ग्रेनाइट, बालाजी म्यानुफ्याक्चरिङ, नेपाल एग्रो टुल्स, एसियन भेहिकल्स र बायो कम्प नेपाल रहेका छन् । यी उद्योगहरूले हाल करिब ७ सय जनालाई रोजगारी दिएका छन् ।
८ सय ३३ बिघामा फैलिएको सिमरा सेजमा ‘ए’ देखि ‘इ’ सम्म ५ ब्लक रहेका छन् । सबैभन्दा ठूलो ‘ए’ ब्लकको १ सय ६५ बिघा क्षेत्रमा उद्योग सञ्चालन वा निर्माणाधीन अवस्थामा रहेका छन् । हालसम्म सेजमा २१ उद्योग दर्ता भइसकेका छन् ।
सेजमा उद्योग स्थापना गर्न ३० वर्षका लागि जग्गा भाडामा पाइने व्यवस्था छ । उद्योगहरूले पहिलो तीन वर्ष स्वदेश मै उत्पादन बिक्री गर्न पाउने र त्यसपछि क्रमशः निर्यात बढाउँदै लैजानुपर्ने प्रावधान रहेको छ ।
इन्चार्ज पप्पु गिरीका अनुसार भाडा दर घटाउनु उद्योग आकर्षित गर्ने मुख्य उपाय बनेको छ । यसअघि उच्च भाडा दरकै कारण उद्योग स्थापना सुस्त रहेको अनुमान गरिएको छ ।