रौतहटको फतुवा विजयपुर नगरपालिका यतिबेला भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाको आन्दोलनले तातेको छ ।
सागरनाथ वन विकास परियोजना ले अतिक्रमित वन जग्गा खाली गर्न १५ दिने चेतावनीसहित सूचना जारी गरेपछि सयौँ स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
नगरपालिकाका विभिन्न वडाबाट महिला–पुरुषहरू हातहातमा तुल, ब्यानर तथा प्लेकार्ड बोकेर बिहीबार नगरपालिका कार्यालयअघि पुगेका थिए । प्रदर्शनका क्रममा उनीहरूले “डोजर आतंक बन्द गर”, “लालपुर्जा देऊ” र “सुकुम्वासीमाथि अन्याय बन्द गर” जस्ता नारा लगाएका थिए । आन्दोलनपछि नगरपालिका परिसरमा आयोजित कोणसभामा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले समेत समर्थन जनाएका थिए ।
कोणसभामा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप पटेल, लालबाबु पटेल तथा पूर्व उपमेयर कान्ती महतो ले तीन दशकदेखि बसोबास गर्दै आएका विपन्न परिवारलाई हटाउने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका थिए । वक्ताहरूले जनताको मतबाट बनेको सरकारले जनतामाथि नै डोजर चलाए त्यसको कडा प्रतिवाद हुने बताएका थिए ।
ज्ञापनपत्रसहित आन्दोलनको चेतावनी
कोणसभापछि आन्दोलनकारीहरूले कार्यवाहक मेयर अम्बेया खातुन लाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मेयरका श्रीमान् महमद सेराज ले कानुनी दायराभित्र रहेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
ज्ञापनपत्रमा वडा नं. १ देखि ११ सम्मका एलानी तथा सार्वजनिक जग्गामा दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई व्यवस्थापन नगरी हटाउने प्रयास संविधानविपरीत रहेको उल्लेख गरिएको छ । साथै भूमि समस्या समाधान आयोग मार्फत २०८०/०५/२९ मा संकलन गरिएको आवेदन, अनलाइन इन्ट्री तथा अभिलेखीकरणको काम पूरा भइसकेकाले अब नापजाँच प्रक्रिया अघि बढाएर लालपुर्जा वितरण गर्न माग गरिएको छ ।
आन्दोलनकारीहरूले माग सम्बोधनमा ढिलाइ भए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
वन क्षेत्रबाट बस्ती बनेको २०० हेक्टर
फतुवा विजयपुर नगरपालिका–११ मा रहेको सागरनाथ वन परियोजनाको करिब २०० हेक्टर क्षेत्रफल यतिबेला विवादको केन्द्रमा छ । स्थानीयका अनुसार तीन दशकअघि हराभरा वन रहेको उक्त क्षेत्र विभिन्न राजनीतिक आन्दोलन र द्वन्द्वका कारण क्रमशः फँडानी हुँदै गएको थियो ।
१० वर्षे सशस्त्र माओवादी युद्ध, मधेश आन्दोलन तथा विभिन्न भूमिगत गतिविधिका क्रममा सुरक्षाकर्मी र वन कर्मचारीको उपस्थिति कमजोर बनेपछि वन अतिक्रमण तीव्र भएको स्थानीयको भनाइ छ । त्यसपछि खाली भएको जमिनमा सयौँ परिवारले घर बनाएर बसोबास गर्न थालेका थिए भने धेरैले खेतीपातीसमेत गर्दै आएका छन् ।
उक्त क्षेत्रमा अहिले “सहिद चौक” नामको बजारसमेत विकसित भइसकेको छ । त्यहाँ दर्जनौँ पक्की घर निर्माण भएका छन् । स्थानीयका अनुसार वनकै जग्गा अहिले प्रतिकठ्ठा १५ देखि २० लाख रुपैयाँसम्म किनबेच भइरहेको छ भने खेतीयोग्य जमिन २ देखि ३ लाख रुपैयाँ प्रतिकठ्ठाका दरले कारोबार भइरहेको छ ।
फेरि चर्कियो पुरानो विवाद
सागरनाथ वन विकास परियोजना, सर्लाहीले गत वैशाख १४ गते सूचना जारी गर्दै रौतहटको फतुवा विजयपुर–११ स्थित २०० हेक्टर तथा चन्द्रपुर नगरपालिका–२ जुडिबेला क्षेत्रको ५२ हेक्टर वन जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो ।
परियोजनाका निमित्त प्रमुख चन्द्रमोहन सिंह द्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने निर्माण गरिएका संरचना र लगाइएका बालीनाली हटाइने तथा त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुने उल्लेख गरिएको छ ।
सूचना सार्वजनिक भएसँगै फतुवा विजयपुरका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासिन्दा पुनः आन्दोलित बनेका छन् । स्थानीय तहमा यो विषय फेरि राजनीतिक मुद्दाका रूपमा चर्किन थालेको छ ।
यसअघि पनि उक्त जग्गा अतिक्रमणमुक्त गराउन परियोजनाले पटक–पटक प्रयास गरेको थियो । तर स्थानीयका अनुसार त्यसबेला विभिन्न राजनीतिक नेतृत्वले यसलाई मुद्दा बनाएर संरक्षण गरेकाले परियोजनाको प्रयास सफल हुन सकेको थिएन ।