हरिवन नगरपालिका–१, बिलन्दी टोलमा शुक्रबार बिहान ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
दिवश बम्जन को काठले बनेको दुईतले घरको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना बिहान करिब ९:०० बजे भएको हो ।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी को कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनबाट सशस्त्र प्रहरी नायब निरीक्षक मनोज प्रसाद कुशवाहा को कमाण्डमा ७ जना तथा नेपाली सेना अन्तर्गत कालीध्वज गण पाँचकुमारी ब्यारेक लालबन्दीबाट उप–सेनानी रेशम शर्मा घिमिरे को नेतृत्वमा दमकलसहित ११ जनाको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी, सशस्त्र प्रहरी, सेना, दमकल तथा स्थानीयवासीको संयुक्त प्रयासमा करिब ९:४५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय हरिवनबाट करिब ५ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।