बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रलाई सफा, व्यवस्थित तथा वातावरणमैत्री बनाउन फोहोर व्यवस्थापनमा कडाइ गर्ने भएको छ ।
सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्थामाथि अब कानुनी कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक, चोक, फुटपाथ, नाला, नदी तथा अन्य सार्वजनिक स्थलमा फोहोर फाल्न पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
फोहोरमैला व्यवस्थापन ऐन–२०६८ तथा स्थानीय फोहोरमैला व्यवस्थापन कार्यविधि–२०७९ अनुसार नियम उल्लंघन गर्नेलाई कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।
सूचनाअनुसार कसुरको प्रकृति हेरी अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ । सामान्य प्रकृतिको फोहोर सार्वजनिक स्थानमा फाल्ने व्यक्तिलाई पहिलो पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ भने सोही कसुर दोहोरिए प्रत्येक पटक जरिवाना रकम दोब्बर हुँदै जाने जनाइएको छ ।
नगरको सरसफाइ, वातावरण संरक्षण तथा सार्वजनिक स्वास्थ्यमा असर पर्ने गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
साथै नगरवासीलाई तोकिएको स्थानमै फोहोर व्यवस्थापन गर्न तथा सरसफाइ अभियानमा सहयोग गर्न आग्रह गरिएको छ ।