सप्तरी | सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये पाँच जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार अभद्र व्यवहार मुद्दामा तीन जना, मुद्रासम्बन्धी कसुरमा दुई जना तथा अदालतबाट कैद सजाय र जरिवाना तोकिएपछि फरार रहेका नौ जना प्रतिवादी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार आइतबार राति राजविराज नगरपालिका–९ क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीसँग अभद्र व्यवहार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ निवासी २१ वर्षीय आदित्य पाण्डेलाई पक्राउ गरिएको हो । घाइते अवस्थामा भेटिएका उनलाई सोधपुछ गर्दा प्रहरीमाथि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
त्यसैगरी राजविराज नगरपालिका–६ स्थित नेता चोकमा सडकमा होहल्ला गरिरहेको अवस्थामा भेटिएका विष्णुपुर गाउँपालिका–६ निवासी १२ वर्षीय संजिव साह तथा सुनसरीको बरजू गाउँपालिका–५ निवासी २६ वर्षीय शिवनारायण पण्डितलाई पनि अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सम्झाइबुझाइ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि हातपात गर्न खोजेपछि पक्राउ गरिएको र दुवै जनामाथि पनि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।
यस्तै, मुद्रासम्बन्धी कसुरमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ सखुवा टोल निवासी २२ वर्षीय विवेककुमार पण्डित र सोही स्थानका २२ वर्षीय सचिनकुमार यादव पक्राउ परेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनिया क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०६–००१ प ०९९५ नम्बरको रोयल इनफिल्ड मोटरसाइकलमा सवार उनीहरूको साथबाट एक हजार दरका सात थान नेपाली जाली नोट बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनामाथि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसैबीच, फैसला कार्यान्वयनका क्रममा सप्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका नौ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–३ निवासी सबदलाल मुखिया, शम्भुकुमार मुखिया र संतोषीदेवी मुखिया रहेका छन् । उनीहरू कुटपिट मुद्दामा दोषी ठहर भई जनही पाँच सय रुपैयाँ जरिवाना तथा पाँच सय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भए पनि फरार रहेका थिए ।
त्यसैगरी साविक कबिलासा गाविस–९ हाल डाक्नेश्वरी नगरपालिका–१ निवासी भुपेन्द्र साह र विनोद साहलाई लुटपाट तथा कुटपिट मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई जनही ११० रुपैयाँ जरिवाना तोकिएको थियो ।
शम्भुनाथ नगरपालिका–१२ निवासी दिनेशप्रसाद साहलाई मोबाइल चोरी मुद्दामा दुई सय रुपैयाँ जरिवाना तोकिएको थियो भने राजविराज नगरपालिका–१ निवासी महेशप्रसाद यादव लागुऔषध मुद्दामा दुई दिन कैद सजाय पाएपछि फरार रहेका थिए ।
त्यस्तै राजविराज नगरपालिका–१ निवासी सनोज यादव र राजविराज नगरपालिका–११ निवासी अमितकुमार यादवलाई आपराधिक उपद्रव मुद्दामा पक्राउ गरिएको छ । उनीहरूलाई जनही दुई हजार रुपैयाँ जरिवाना तथा एक महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।
अदालतबाट सजाय तोकिएपछि फरार रहेका नौ जनालाई सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको तथा अभद्र व्यवहार मुद्दाका तीन र मुद्रासम्बन्धी कसुरमा पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पुरीले जानकारी दिनुभयो ।