जनकपुरधाम । मधेस प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आज जनकपुरधाममा आयोजना गरिएको छ । न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित उक्त महोत्सव आयोजना गरिएको हो ।
जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार महोत्सवमा अदालतको समग्र कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली, सेवा प्रवाह तथा पुराना मुद्दा फछ्र्योटको अवस्थाबारे जानकारी दिइनेछ । उनका अनुसार न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको छ । अदालतले हाल पुराना मुद्दा फछ्र्योटलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।
कायममुकायम मुख्य न्यायाधीश कुँवरले ‘न्यायिक मेला’लाई न्यायपालिका र नागरिकबीचको दूरी घटाउने महत्वपूर्ण माध्यमका रूपमा लिइएको उल्लेख गरे । उनका अनुसार मेलामार्फत अदालतको सेवा, न्यायिक प्रक्रिया, वैकल्पिक विवाद समाधान, कानुनी सहायता तथा नागरिक अधिकारसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याइनेछ ।
कार्यक्रममा न्यायिक सेवा प्रवाहलाई थप सहज, पारदर्शी र नागरिकमैत्री बनाउने उपायहरूबारे पनि छलफल हुने जनाइएको छ । साथै नागरिकलाई न्यायिक प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिने उद्देश्य पनि रहेको बताइएको छ ।
न्याय क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरिएको छ ।