बारा जिल्लासंग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षा अपरेशनका क्रममा नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको करिब डेढकिलो अफिमसहित दुई जनालाई पक्राउ गरिएको छ ।
पभारतको मोतिहारीस्थित एसएसबी ७१ औँ बटालियनको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाको आधारमा संयुक्त अपरेशन सञ्चालन गरिएको थियो । उक्त अपरेशनमा ‘ई’ कम्पनी बीओपी जमुनिया, ७१ बटालियन एसएसबी मोतिहारी र बिहार प्रहरीको संयुक्त टोली सहभागी रहेको थियो ।
संयुक्त टोलीले घोडासहन नजिकैबाट १ किलो.४८० ग्राम अफिम एउटा मोटोरोला जी–१३ मोबाइल फोन तथा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्लाको झरोखर थाना अन्तर्गत अठमोहान वडा ८ निवासी अन्दाजी ५० वर्षीया सुदामी देवी र छौँरादानो ब्लक अन्तर्गत दरपा थाना क्षेत्रको पिपरा गाउँ निवासी दिलीप कुमार राम रहेको एसएसबि मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीले बताएका छन् ।
बरामद मोबाइलको दुईवटा आईएमईआई नम्बर पनि प्रहरीले सार्वजनिक गरेको छ ।
एसएसबीका प्रवक्ता बिनित कुमार सिंहका अनुसार बरामद सामग्री घोडासहन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो, जुन भारत–नेपाल सीमास्तम्भ नम्बर ३५७र०३ बाट करिब ८ किलोमिटर भारतीय भूभागभित्र पर्दछ। प्रारम्भिक अनुसन्धानमा उक्त अफिम नेपालबाट भारततर्फ तस्करी गरिएको खुल्न आएको छ ।
बरामद सामग्री तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि घोडासहन प्रहरी स्टेशनमा बुझाईएको छ ।