पूर्व–पश्चिम राजमार्गमा गत पुषमा दुर्घटनाग्रस्त भएको ग्यास बोकेको बुलेट ट्यांकर चार महिनादेखि पनि सम्बन्धित धनीले नलिँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा अलपत्र अवस्थामा रहेको छ ।
गत २०८२ पुष १५ गते चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्कानजिक भारतबाट वीरगंज नाका हुँदै पूर्वतर्फ आउँदै गरेको यूपी १७ एपी २११४ नम्बरको एलपी ग्यास लोड बुलेट ट्यांकर स्टेरिङ जाम भएर अनियन्त्रित भई सडकको बीचमै पल्टिएको थियो। दुर्घटनाका कारण करिब २४ घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।
दुर्घटनाका क्रममा भारतको कदोरमा जयनगर थानाका ३७ वर्षीय चालक पवन यादव घाइते भएका थिए । ग्यास लिक र आगलागीको जोखिमका कारण तत्काल उद्धार गर्न नसकिएको र उपकरण अभावले सडक खुलाउन ढिलाइ भएको प्रहरीले जनाएको छ । पछि सबै ग्यास सुरक्षित रूपमा निकालिएपछि मात्र ट्यांकर सडकबाट हटाइएको थियो ।
तर, दुर्घटनापछि ट्राफिक कार्यालयमा ल्याइएको उक्त बुलेट ट्यांकर चार महिनासम्म पनि लिन कोही नआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राजेन्द्र थापामगरले बताए ।
उनका अनुसार सम्बन्धित चालकमार्फत जानकारी गराइए पनि अहिलेसम्म सवारीधनी सम्पर्कमा आएका छैनन् । “कार्यालय अगाडि ट्यांकर अलपत्र अवस्थामा छ, न हटाउन मिलेको छ न राख्न सहज भएको छ,” उनले भने । भारतीय सवारीसाधन भएकाले अन्यत्र स्थानान्तरण प्रक्रिया पनि अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यसबारे माथिल्लो निकायलाई जानकारी गराइसकेको जनाएको छ ।