सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा ६ परिवारका १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको ‘घुर’बाट सल्किएको आगो अचानक फैलिँदा बस्तीका घरहरूमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । रातिको समयमा चलेको हावाका कारण आगो तीव्र रूपमा फैलिएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट रामअवतार यादवका दुई घर र एक गोठ, जुगाइ यादवका दुई घर र एक गोठ, अनिल यादवका दुई घर र एक गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक–एक वटा घर जलेर खरानी भएका छन् ।
प्रहरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय रामनाथ यादवले मध्यरातमा अचानक आगो फैलिँदा बस्तीमा भागदौड मच्चिएको बताए । “हेर्दाहेर्दै आगोले घरहरू समात्न थाल्यो, धेरै सामान निकाल्न समेत पाइएन,” उनले भने,
आगो नियन्त्रणका लागि हनुमाननगर कङ्कालिनी नगरपालिका बाट आएको वारुण यन्त्र, मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको टोली, स्थानीयवासी तथा प्रहरीको संयुक्त प्रयास गरिएको थियो । करिब केही घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीपछि पीडित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् । घर, लत्ताकपडा, खाद्यान्न र नगद सबै जलेपछि उनीहरू विचल्लीमा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ भने आगलागीबाट भएको क्षतिको यकिन विवरण तयार पार्ने काम जारी रहेको बताइएको छ ।