जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१३ स्थित नारायणी यातायात कार्यालय अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको थियो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी दिपेन्द्र कुमार गुप्ताको नाममा दर्ता रहेको प्रदेश २–०३–०१९ प ६३५० नम्बरको २२० सीसी क्षमताको कालो–रातो रंगको पल्सर मोटरसाइकलको लक तोडेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्ला, वीरगंज महानगरपालिका–१३ निवासी २० वर्षीय अकतर हुसेन रहेका छन् । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त सहयोगमा मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका हुसेनमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।