जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान अन्तर्गत विभिन्न मितिमा ८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा रहेको चेकपोइन्टमा भारतबाट नेपालतर्फ आउने पैदल यात्री तथा सवारीसाधनहरूको चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
चेकजाँचका क्रममा पक्राउ परेका व्यक्तिहरूको शरीर तथा सवारीसाधनमा लुकाइछिपाइ राखिएको खैरो हिरोइन, सेतो हिरोइन र प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा २७ वर्षीय विकास कुमार साह र २३ वर्षीय कबिन पराजुली रहेका छन् । उनीहरूको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
त्यसैगरी २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्वाको साथबाट ५ ग्राम खैरो हिरोइन तथा ०.२५ मिलिग्राम सेतो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
२१ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बम्जनको साथबाट ३ ग्राम ३७ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ भने ३७ वर्षीय राजु बानिया र ५२ वर्षीय अलिहदन मियाँको साथबाट ५३ पिस प्रतिबन्धित ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले विकास कुमार साह र कबिन पराजुलीले प्रयोग गरेको मधेश प्रदेश ०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।