वीरगंज महानगरपालिकाद्वारा निर्माण तथा सौन्दर्यीकरण भइरहेको विपी उद्यान पार्कको काम तीव्र गतिमा अघि बढिरहेको छ ।
दिनप्रतिदिन आकर्षक बन्दै गएको उक्त पार्कमा हरियाली प्रवर्द्धन, सौन्दर्यीकरण तथा विभिन्न पूर्वाधार विकासका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् ।
यसैक्रममा आदर्शनगर ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानसहित पदाधिकारीहरूको टोलीले पार्क क्षेत्रको निरीक्षण गर्दै कार्यप्रगतिबारे जानकारी लिएको छ । निरीक्षणका क्रममा टोलीले पार्कभित्र भइरहेको हरियाली विस्तार, संरचना निर्माण, सरसफाइ तथा वातावरणीय व्यवस्थापनको अवस्थाबारे चासो व्यक्त गरेको थियो ।
निरीक्षणपछि अध्यक्ष खेतानले वीरगंजलाई हराभरा, सफा तथा स्मार्ट सिटीका रूपमा विकास गर्ने अभियानमा आदर्शनगर ग्रीनसिटी र सामुदायिक प्रहरी सेवा आदर्शनगर सुरुदेखि नै सक्रिय रूपमा लागिरहेको बताए । उनले वातावरण संरक्षणसँगै शहरको सौन्दर्य वृद्धि गर्ने अभियानलाई निरन्तरता दिइने उल्लेख गरे ।
उनले आगामी दिनमा वृक्षारोपण, सरसफाइ, ट्राफिक व्यवस्थापन, सार्वजनिक स्थल संरक्षण तथा नागरिक सचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । “काम गर्दै जाने हो, फल हेर्ने होइन” भन्ने धारणा व्यक्त गर्दै खेतानले निरन्तर सकारात्मक प्रयास र सहकार्यबाट मात्र शहरको विकास सम्भव हुने विश्वास व्यक्त गरे ।
खेतानले विगतको वीरगंज र वर्तमान वीरगंजबीच उल्लेखनीय परिवर्तन आएको दाबी गर्दै नागरिकलाई आफैं तुलना गर्न आग्रह गरे । उनले शहरलाई अझ व्यवस्थित, सफा र हराभरा बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागीहरूले वीरगंजलाई आधुनिक, स्वच्छ र व्यवस्थित शहरका रूपमा विकास गर्न महानगरपालिका, सामाजिक संस्था, सुरक्षा निकाय तथा स्थानीयवासीबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
निर्माण सम्पन्न भएपछि विपी उद्यान पार्क वीरगंजवासीका लागि मनोरञ्जन, वातावरणीय सन्तुलन तथा सार्वजनिक भेटघाटको आकर्षक केन्द्र बन्ने अपेक्षा गरिएको छ ।