वीरगंजबाट चोरी गरिएको मोटरसाइकल चलाएर रौतहटको मौलापुरमा पैदलयात्रीलाई ठक्कर दिई फरार भएका युवकलाई रौतहट प्रहरीले ७२ घण्टा भित्रै पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–३ निवासी २३ वर्षीय जाविर अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार विशेष अनुसन्धान र प्रविधिको प्रयोगबाट फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको हो ।
गत वैशाख २२ गते बिहान मौलापुर बजारको आईटी चौक क्षेत्रमा हरनहियाबाट मौलापुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२७ प ७५७५ नम्बरको मोटरसाइकलले स्थानीय २० वर्षीया सुनिता कुमारीलाई ठक्कर दिएको थियो । दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् । घटनापछि चालक मोटरसाइकल घटनास्थल मै छोडेर फरार भएका थिए । प्रहरीले मोटरसाइकलको विवरण खोजतलास गर्दा उक्त सवारी वीरगंज महानगरपालिका नगवा निवासी ३१ वर्षीय रमेश कुमार पटेलको रहेको खुलेको थियो ।
अनुसन्धानका क्रममा सो मोटरसाइकल सोही दिन बिहान करिब ५ बजे नगवा चौकबाट चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी नगवामा निवेदन समेत परेको पर्सा प्रहरीले जनाएको छ ।
त्यसपछि रौतहट प्रहरीले सम्भावित भाग्ने नाका, बाटो र स्थानहरूको निगरानी बढाउँदै प्रविधि तथा हुलियाको विश्लेषणका आधारमा खोजी अभियान सञ्चालन गरेको थियो । सोही क्रममा घटनाको तीन दिनपछि वैशाख २५ गते बंकुल नहर चौकबाट जाविर अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल अन्सारीलाई नियन्त्रणमा रखेर थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
उनीविरुद्ध सवारी ज्यान तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जनाएकाे छ ।