सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित चिनी मिल नजिक एक बेवारिसे पुरुषको शव फेला परेको छ । हुलाकी सडक किनारमा अन्दाजी ४० वर्षीय पुरुषको शव बरामद भएको हो ।
घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकी ले सडेर गन्ध फैलिरहेको अवस्थामा शव फेला परेको जानकारी दिनुभयो ।
आइतबार अपराह्न हुलाकी सडकछेउको जलकुम्भीको घारीमा बेवारिसे शव देखिएपछि स्थानीयले प्रहरी चौकी गोडैतामा खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुढाथोकीको नेतृत्वमा गएको टोलीले घटनास्थलको प्रकृतिमुचुल्का गरी शव पोस्टमार्टमका लागि आइतबार राति प्रादेशिक अस्पताल मलङ्गवा पठाएको प्रहरीले जनाएको छ ।
घाम र पानीका कारण शव सडिसकेको र कपडामात्र चिनिने अवस्थामा रहेको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलाउने तथा मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।