नेपाल प्रहरी ले हराएका तीन जना बालकलाई सोमबार सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।
फेला पर्ने बालकमा बोदेबरसाइन नगरपालिका–३ गौरा टोल निवासी पंकज मण्डलका १२ वर्षीय छोरा प्रिन्स मण्डल, वरुण ठाकुरका १० वर्षीय छोरा दुर्गानन्द ठाकुर तथा सन्तोष यादवका ७ वर्षीय छोरा विकास यादव रहेका छन् ।
सप्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरी का अनुसार सोधपुछका क्रममा उनीहरू लहान स्थित गोल्डेन इङ्ग्लिस बोर्डिङ स्कुल को होस्टेलमा बस्दै अध्ययनरत रहेको तथा कसैलाई जानकारी नदिई होस्टेलबाट निस्किएको खुलेको हो । प्रहरीले तीनै जना बालकलाई प्रहरी चौकी लक्ष्मीपुरमा राखेर आवश्यक सोधपुछपछि आफन्तको जिम्मा लगाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार बिहान करिब ४ः३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा प्रहरी चौकी लक्ष्मीपुरबाट प्रहरी सहायक निरीक्षक सञ्जय झा को कमान्डमा खटिएको गस्ती टोलीले लहानबाट कदमाहातर्फ पैदल हिँडिरहेका अवस्थामा तीनै जना बालकलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।